मदन भण्डारी गोल्डकपको खेल तालिका सार्वजनिक


 


काठमाडौँ, माघ ९

मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल टोली र मेची नेत्रालय झापाबीच खेल हुने भएको छ । यही माघ १२ देखि १९ गतेसम्म सुनसरीको इटहरीमा आयोजना हुने प्रतियोगिताको आज खेल तालिका सार्वजनिक गर्दै मदनभण्डारी स्पोर्टस् एकेडेमीले सो जानकारी दिएको हो ।

प्रतियोगिताअन्तर्गत १३ गते मनाङ–मस्र्याङ्दी क्लब र राष्ट्रिय जागृति क्लब, इटहरीबीच खेल हुनेछ । त्यस्तै १४ गते त्रिभुवन आर्मी क्लब र थ्रीस्टार तथा १५ गते नेपाल पुलिस क्लब र भूटान सिएफसीबीच खेल हुनेछ । खेल तालिकाअनुसार साविकको विजेता थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । अघिल्लो संस्करणको उपविजेता मनाङ–मस्र्याङ्दी क्लब भने सहज समूहमा परेको छ । मनाङले आफ्नो पहिलो खेलमा राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा दुई विदेशीसहित आठ टोलीको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा क्यामरुनको दाफिन्स फुटबल टिम, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आर्मी र थ्री स्टार छन् । समूह ‘बी’ मा मनाङ, राष्ट्रिय जागृति क्लब, नेपाल पुलिस क्लब र भूटान सिएफसी छन् ।

प्रतियोगिताको विजेताले रु १६ लाख प्राप्त गर्नेछ । गत वर्ष थ्री स्टारले मनाङलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि आयोजकले खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने जनाएको थियो तर रङ्गशालाको पुनःनिर्माणको काम नसकिएकाले खेल इटहरीमा गर्नुपरेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्