साफ च्याम्पियसिप : सेमिफाईनलमा नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्ने


 


विराटनगर, चैत ३

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह बीको अन्तिम खेलमा आज श्रीलंकालाई ५– ० ले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेको छ । श्रीलंका भने उपविजेता रहृयो । नेपाल समूह एको विजेता हो ।

भारतले सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरको शहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि पूरै दबावमा राख्यो । उसले चौथो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । सन्जुले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ग्रेस दङमीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तीन मिनेटपछि भारतले अर्को गोल गर्यो । सन्जुले निकालेको पासमा सन्धिया रंगनाथनले गोल गरिन् । भारतले निकै राम्रो गोल गर्ने अवसर निकाल्दा श्रीलंकाले भने कुनै मुभ नै बनाउन सकेन । खेलको ३६औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३ –० गोलको अग्रता दिलाइन् । ४५औं मिनेटमा गोल संगिता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् ।

सन्जुले प्रहार गरेको बल श्रीलंकाकी डिफेन्डर रुसानी गुनावर्दनेले डिबक्सभित्र हृयाण्ड गरेपछि भारतले पेनाल्टी पाएको थियो । पहिलो हाफमै चार गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ४७औं मिनेटमा रतनबाला देवी नोङमाइथेनले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । सेमिफाइनल खेल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ । अनलाईन खबरबाट

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्